हेटौंडाको मुख्य सडक दायाँबायाँ २५/२५ मिटर फराकिलो बनाउन उपमहानगर सकारात्मक

हेटौंडा – उपमहानगरपालिकाको मुख्य सडक दायाँबायाँ २५/२५ मिटर फराकिलो पार्न उपमहानगर नेतृत्व सकारात्मक देखिएको छ ।

यसअघि बारम्बार प्रयासका बाबजुद बजार क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्ग फराकिलो पार्न नसकेको उपमहानगर फेरि सडक विस्तारको योजनामा कस्सिएको हो । तत्कालीन मेयर हरिबहादुर महत पनि हेटौंडाको मुख्य सडक फराकिलो पार्नुपर्ने अडानमा थिए । उनको अडान सत्तासँग सिधा पहुँच बनाएका नेता र व्यापारीसामु फिक्का बनेको थियो । यद्यपि, गठबन्धनबाट मेयरमा निर्वाचित मिनाकुमारी लामाले नगरको अस्तव्यस्त यातायात व्यवस्थापन हटाउन सडक फराकिलो पार्नुपर्ने भन्दै ‘ग्रीन सिग्नल’ दिएकी छन् ।

उपमहानगर नेतृत्वसँग एसियन हाइबे निर्माणअन्तर्गत एसियाली बिकास बैंक (एडीबी)ले बजार क्षेत्रको सडक फराकिलो बनाउन छलफल गरेको छ । छलफलमा अध्ययन गरेर सडक विस्तार गर्न सकारात्मक भएको उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । ‘एडीबीसँग छलफल गरिएको छ । साँघुरा सडक विस्तार गर्नुपर्छ भन्नेमा नेतृत्व सकारात्मक छ । तर, अध्ययनबाट आर्थिक, सामाजिक क्षेत्रको अवस्था मूल्याङ्कन गरेपछि मात्रै सडक विस्तार गर्नुपर्छ भन्नेमा एकमत छौँ’, न्यौपानेले भने, ‘सडक फराकिलो हुन्छ तर अध्ययनपछि मात्रै ।’

हेटौंडा उपमहानगरपालिकामा बसेको एडीबीको सडक परियोजनाको प्रतिनिधिसहित मेयर लामा, उपमेयर राजेश बानियाँ, सम्बन्धित वडाका वडाध्यक्षहरू, मालपोत र नापी कार्यालयका प्रतिनिधिको बैठकले सडक विस्तारलाई छिटो टुंगोमा पुर्‍याउने पर्ने विषयमा छलफल भएको थियो । मुआब्जाका कारणले निम्त्याएको विवादले हालसम्म सडक विस्तार हुन नसकेको भन्दै पहिला मुआब्जाको विषय टुंग्याउनुपर्नेमा जोड दिइएको प्रवक्ता न्यौपानेले बताए ।

सडक विस्तार विवादलाई अझै लम्ब्याउँदा हेटौंडाको विकासलाई नै प्रतिकूल असर पर्ने देखिएपछि उपमहानगरपालिकाले समन्वय र सहकार्य गर्न सकारात्मक भएको उनको भनाइ छ । ३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा एमालेले बजारको सडक विस्तार मुद्दालाई मुख्य एजेण्डा नै बनाएको थियो । भोट बटुल्न एमालेले सडक नभत्काउने र बाईपास सडकबाट राजमार्ग सञ्चालन गर्ने जनाएको थियो । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बजारको मुख्य सडक नभत्काउन बाइपास सडक निर्माणका लाडि बजेट बिनियोजन गरेर काम गरेका थिए । तर, उक्त बाइपास सडक हालसम्म निर्माण हुन सकेको छैन् ।

यसअघि पूर्व-पश्चिम राजमार्गमा पर्ने हेटौंडाको पूर्वी बजार क्षेत्र रातोमाटेदेखि बुद्धचोकहुँदै पश्चिम क्षेत्रको राप्ति पुलसम्म सडक विस्तार हुन नसकेको हो । सडक डिभिजनले पटक-पटक सूचना निकालेर घरटहरा हटाउन निर्देशन दिए पनि सडक विस्तार सम्भव भएको थिएन । सडक डिभिजनले केही वर्षअघि राप्ति पुलदेखि नेपाल टेलिकमको कार्यालयसम्म दायाँबायाँ घरटहरा भत्काएको थियो । त्यसक्षेत्रका बासिन्दा, व्यापारीहरूको आन्दोलनले सडक डिभिजन ‘ब्याक’ भएको थियो ।

सडक डिभिजनले यसअघि ७ असार २०७६ मा सूचना जारी गर्दै महेन्द्र राजमार्गको धन्सार पुल (बारा)देखि लोथर (मकवानपुर)सम्म तथा त्रिभुवन राजपथको बीरगंज भन्सार (पर्सा)देखि दामेचौर (मकवानपुर)सम्मको राजमार्ग खाली गर्नका लागि निर्देशन दिएको थियो । पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको दाँयारबाँया २५/२५ मिटर सडक अतिक्रमण गरी बनाइएको घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन निर्देशन दिए पनि कार्यान्वयन भएको थिए । बाराको पथलैयाबाट यता सडक विस्तार हुन सकेको छैन ।शिलापत्रबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*