७५ करोडमा निर्माण हुँदै हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग
हेटौंडा । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट छोटो दुरीको मार्ग भएर काठमाण्डौं जाने सडक दुइ खण्डमा गरेर ७५ करोड रुपैयाँ लागतमा निर्माणको काम भइरहेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले कुलेखानी देखि दक्षिणकाली सम्मको सडकलाई दुइ खण्डमा गरेर ठेक्का मार्फत काम गरिरहेको छ । कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुइ खण्डमा गरेर २० किलोमिटर सडक ७५ करोड लागतमा निर्माण हुदै गरेको आयोजनाका इन्जिनियर किरण रन्जितले बताउनुभयो ।
आयोजनाले छुट्याएको मकवानपुर खण्डमा १२ दशमलब १५८ मिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरे देखि निर्माणको काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । मकवानपुर खण्डमा २०७८ साल फागुन २५ गते संझौता गरेर काम भइरहेको हो । मकवानपुर खण्डमा ४३ करोड ४१ लाख १६ हजार लागतमा रमन पीआर त्रिबेणी जेभी मुलपानी काठमाण्डौंसंग संझौता गरेर काम सुरु गरिएको हो । यस सडक खण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी संझौता गरिएको इन्जिनियर रन्जितले बताउनुभयो ।
यसैगरी काठमाण्डौं खण्डमा ३१ करोड ९३ लाख ११ हजार रुपैयाँ लागतमा रौता रामसागर जेभी काठमाण्डौंले ठेक्का प्राप्त गरेर काम गरिरहेको छ । निर्माण कम्पनिसंग २०७८ असार ११ गते संझौता गरेर २०८० साल असार १० गते सक्नेगरी संझौता गरिएको छ । दुबै सडक खण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, १० मिटर फराकिलो निर्माण गर्ने, पीच गर्ने, वाल लगाउने लगायतका कामका लागि ठेक्का दिइएको उहाँले बताउनुभयो । यो सडक निर्माण भएपछी ठुला भारी सवारीका साधन पनि सजिलैसंग ओहोर दोहोर गर्न सक्नेछन् । अहिले यस सडकबाट साना सवारीका साधन मात्र हेटौंडा–काठमाण्डौं ओहोरदोहोर गरिरहेका छन् ।
























