बागमती प्रदेशको सांसद भवन सहितका कार्यालयहरु हटियामा बन्ने
हेटौँडा । करिब ५ वर्षसम्म जग्गा छनोट गर्न नसकेर अलमलमा परेको बागमती प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ अर्थात मुख्यमन्त्री सहित सम्पूर्ण मन्त्रीपरिषदको कार्यालय, सांसद भवन सहितका कार्यालयहरु हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ हटियामा निर्माण गर्ने भएको छ ।
मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सिंहदरबार निर्माणको तयारीबारे जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘हेटौँडा–१६ मा ५४ बिघा क्षेत्रफलमा प्रदेशको सिंहदरबार बन्छ । हामीले जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि पठाइसकेका छौँ । केही दिनभित्रै त्यसको अनुमति आउँछ,’ पाण्डेले भने, ‘जग्गा स्वीकृत भएको एक हप्ताभित्र संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गर्छौं ’
पाण्डेले पाँच वर्षसम्म साँघुरो तरबले काम गरिएको स्मरण गर्दै प्रदेश सरकारले आफ्ना प्रशासनिक भवनहरु बनाउनको लागि चालु आर्थिक वर्षमा १ अर्ब पाँच करोड रुपैँया विनियोजन गरेको बताए ।
हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय देखि सम्पूर्ण मन्त्रालय, लोकसेवा आयोग, विभिन्न आयोगका कार्यालय तथा प्रहरी विटहरु निर्माण हुने मुख्यमन्त्री पाण्डेको भनाई छ । हेटौँडाबाट करिब ११ किलोमिटर दुरीकम रहेको हटिया क्षेत्रमा बन्ने नयाँ मुकामले सो क्षेत्रमा प्रचुर मात्रामा सहरीकरण हुने संभावना पनि देखिएको छ ।
























