चाडपर्वलाई लक्षित गर्दै प्रदेश प्रहरीको विशेष सुरक्षा योजना लागू

हेटौंडा । नजिकिँदै गरेको दशैं, तिहार, छठजस्ता नेपालीहरुको मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले एक कार्यक्रमका बीच चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले विशेष सुरक्षा योजना सार्वजनिक गर्नुभएको छ । सुरक्षा योजना सार्वजनिक कार्यक्रममा प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहतका प्रहरी कार्यालय प्रमुखहरुको उपस्थिति थियो ।

यस वर्षको मुख्य चाडपर्व सुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने आपराधिक गतिविधिहरुलाई न्यूनीकरण एवम् नियन्त्रणका लागि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको डीआईजी बज्राचार्यले बताउनुभयो । यस योजनाले बागमती प्रदेशअन्तर्गतका आम नागरिकले सुरक्षितरुपमा चाडपर्व मनाउने वातावरण तयार पार्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बागमती प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रमा पर्ने काठमाडौं उपत्यकाबाहेकका प्रदेशका अन्य १० जिल्लामा बुधबारबाटै लागू भएको बताइएको छ । विशेष सुरक्षा योजनाअनुरुप प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तर्राष्ट्रिय एवम् प्रदेश प्रवेश गर्ने सीमा नाकामा तालिमप्राप्त प्रहरी कुकुरसहित नियमित तथा सरप्राइज चेकजाँचको व्यवस्था मिलाउने, नियमित ‘क्वीक रेस्पोन्स टिम’ परिचालन गर्ने, नियमित मोबाइल गस्ती गर्ने बताइएको छ ।

यस्तै, नियमित पिकेट ड्यूटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, बैंकिङ तथा वित्तीय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने विशेष सुरक्षा योजना रहेको डीआईजी बज्राचार्यले जानकारी दिनुभयो । चाडपर्वको समयमा हुन सक्ने झैझगडा तथा जुवातास एवम् घरेलु मदिरा नियन्त्रण गर्ने, लागूपदार्थ तथा मादकपदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी चौबीसै घण्टा प्रहरी परिचालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन गर्ने, सवारी साधनहरुका गति नियन्त्रणका लागि राडरगनसहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रिकालीन वेश स्थापना गर्ने उहाँले जानकारी दिनुभयो । साथै, मातहत कार्यालयबाट काम कारवाही भए नभएको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयबाट नियमित अनुगमन एवम् सुपरीवेक्षणको व्यवस्था मिलाउने गरी सुरक्षा योजना तयार पारी लागू गरिएको बताइएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाअनुरुप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी ५ हजारभन्दा बढी प्रहरी टोली परिचालित हुने डीआईजी बज्राचार्यले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*