हेटौंडाका व्यापारी कृष्ण गुप्ताको पत्नी समानुपातिकको सूचीमा

हेटौंडा । डेढ वर्ष अघि नेपाली कांग्रेस प्रवेश गरेका हेटौंडाका व्यापारी कृष्ण गुप्ताको पत्नी बागमती प्रदेशसभा सदस्यको लागि समानुपातिकको सूचीमा परेकी छन् ।

उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष समेत रहेका गुप्ताले आफ्नी पत्नी कृष्णकुमारी गुप्तालाई प्रदेशसभा सदस्यतर्फ मधेसी कोटाबाट समानुपातिकको बन्दसूचीमा पार्न सफल बनेका हुन् ।

उद्योग वाणिज्य संघको अध्यक्ष बन्न कृष्ण गुप्ता २३ चैत २०७७ मा कांग्रेस प्रवेश गरेका थिए ।

समानुपातिकमा गुप्ताको पत्नीको नाम गुपचप हालिएको भन्दै कांग्रेस मकवानपुरका जिल्ला नेताहरु रुष्ट बनेका छन् ।

कांग्रेसका एक जिल्ला नेताका अनुसार यसको प्रत्यक्ष असर आउँदो ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्ने देखिने छ । उनले जिल्लामा वर्षौदेखि पार्टीको लागि काम गर्दै आएकालाई अवसर नदिइ केहि वर्ष अघि मात्रै पार्टी प्रवेश गरेका र क्रियाशिल सदस्य समेत नभएकोलाई सांसद बनाउन लागेको भन्दै आफुहरु असन्तुष्टि रहेको बताए ।

यसअघि कांग्रेसको कुनै पनि गतिविधिमा नदेखिएकी गुप्ता आइतबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएकी थिइन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासँगै आएकी थिइन् । डिना कांग्रेसबाट आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नंबर १ को उम्मेदवार हुन् । यसअघिको निर्वाचनमा मकवानपुर क्षेत्र नंबर २ बाट पराजित बन्दै आएकी डिना सो क्षेत्र छोडेर यसपटक क्षेत्र नंबर १ मा निर्वाचन लड्दै छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*