मकवानपुरमा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्
हेटौंडा । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मकवानपुरमा ६९ जनाको उम्मेदवारी कायम भएको छ ।
बुधबार उम्मेदवारी फिर्ता लिने समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिए । उनका अनुसार २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा ६९ जनाको उम्मेदवारी कायम भएको छ ।
आइतबार उम्मेदवारी दर्ता गराएका ६९ उम्मेदवारमाथि कुनैपनि उजुरी पनि परेको थिएन ।
जिल्लामा प्रतिनिधिसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ बाट दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ बाट एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा सदस्य पदमा मकवापुर क्षेत्र नम्बर १ (क) मा ८, १ (ख) मा १० र क्षेत्र नम्बर २ (क) मा १० र २ (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका दिएका छन् ।
























