होटल स्मारक कार्तिक २ गते देखि संचालनमा आउदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ शहीद स्मारकमा ३३ करोड लगानीमा निर्माण भएको सुविधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको मनोरम पर्यटकीय स्थल शहीद स्मारक नजिकै रहेको सुविधासम्पन्न होटल कार्तिक २ गते देखि संचालनमा आउने भएको हो ।
देशविदेशमा चर्चा बटुल्दै गरेको शहीद स्मारकमा आएका पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको सञ्चालक बालकृष्ण बजगाईंले बताए । प्रदेशको राजधानी भएपछि झन् हेटौंडामा बास बस्न होटल नपाउने समस्या सिर्जना भइरहेकाले पनि होटल खोलिएको बजगाईंले बताए । १२ कट्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटलको निर्माण लागत ३३ करोड रुपैयाँ छ । होटलमा ३५ सय रुपैयाँदेखि १८ हजार रुपैयाँसम्मका कोठा उपलब्ध रहेको बजगाईंले बताए । ३०० जना क्षमताको बैंङ्क्वीट हल, १५० जना क्षमताको सम्मेलन हल सहितको सुविधा पनि उपलब्ध गरिएको छ ।हप्ताको ७ दिन नै सञ्चालन हुने गरी स्वीमिङ पुल र पार्किङको सुविधा पनि व्यवस्थापन गरिएको छ । होटलहरूको भीडमा फरकपन दिने उद्देश्यले बाहिरबाट आधुनिक डिजाइनमा तयार गरिएको छ । होटल भित्र मौलिकता झल्कने गरी काठका डिजाइनलाई समावेश गरिएको छ । होटलमा बसन्त नेपाल, रोसन बर्ताैला, गोपाल श्रेष्ठ,बालकृष्ण बजगाइ सञ्चालक छन् ।
























