मकवानपुरमा ७९ मतदानस्थल संवेदनशील
हेटौंडा । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका ७९ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ ।
२ संघीय क्षेत्र र ४ प्रदेशसभा क्षेत्रको १६७ मतदान स्थलमा १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।
उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल निर्वाचन क्षेत्रहरूको पहिचान गरेर निर्वाचन मतदान स्थलको सुरक्षा सुरु गरिएको बताए ।
प्रमुख पाण्डेले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रहरुको पहिचान गरिएको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाइएको बताए ।
उनले अति संवेदनशील क्षेत्रमा बढी सुरक्षाकर्मी खटाइने बताउँदै निर्वाचनको तयारीलाई तीब्रता दिइएको समेत बताए । प्रमुख पाण्डेले जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलहरुमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको प्रहरी सुरक्षा पनि केहि दिन पछि खटाउने तयारी रहेको बताए ।
जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
























