भोलि किसानले थाहा नगरपालिका घेराउ गर्ने

थाहा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानहरुले बिहिबार९मंसिर–१५० गते थाहा नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका छन् । तरकारी खेतीको पकेट क्षेत्रको रुपमा परिचित थाहाका किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उदेश्यले कार्यालय घेर्ने तयारी गरेका हुन् ।
किसान हकहित संघर्ष समितिले भोली बिहान ११ बजे थाहा नगरको कार्यालय घेराउ गर्ने कार्यक्रम तय भएको समितिका सदस्य लक्ष्मण बर्तौलाले बताए ।
आलु , बन्दा , काउली ,खुर्सानी जस्ता बेमौसमी खेती आएका यहाँका कृषकहरू बैज्ञानिक रूपमा परिक्षण नभएका नक्कली मल प्रयोग गर्न विवश छन् भने सरकारबाट प्रति बोरा ९०० मूल्य निर्धारण गरिएका युरिया मललाई २८०० सम्म तिर्दै काम चलाउँनु परेको गुनासो स्थानीय किसानहरूको छ।
आलु लगाउँने समय नजिकिँदै गर्दा पनि पर्याप्त रूपमा मल खरिद गर्न नसक्दा किसानहरू फेरि मर्कामा पर्ने सम्भावनाको आँकलन गर्दै थाहा नगरपालिका वडा नम्बर ३ का किसानहरूको एक भेलाको निर्णय अनुसार भोलि बिहान ११ बजे थाहा नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका हुन् ।
किसान हकहित संघर्ष समितिका सदस्य बर्तौलाले सो कार्यक्रम सांकेतिक रूपमा शान्तिपूर्ण गरिने तथा त्यसबाट ठोस निष्कर्ष ननिस्किएमा आन्दोलनलाई क्रमबद्ध अघि बढाउँदै जाने कुरा बताए ।