बागमती प्रदेशमा तीनवटै ठुला दलको नेता छान्ने समयसिमा ‘फाइनल’

हेटौँडा । बागमती प्रदेशको प्रदेशसभामा सहभागि दल मध्येका तीनवटा ठुला दलले संसदीय दलको नेता छान्न हालसम्म नसकेको अवस्थामा अब भने तीनवटै दलले दलको नेता छान्ने समयसिमा ‘फाइनल’ गरेका छन् ।
जसमध्ये बागमतीको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पुस १३ गते हेटौँडामा दलको नेता छान्न निर्वाचन गर्ने भएको छ । दलको नेताको लागि कांग्रेसबाट प्रदेश सभापति इन्द्रबहादुर बानीयाँ तथा केन्द्रीय सदस्य बहादुर लामाबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बागमती प्रदेशको संसदीय दलको नेता छान्न पुस १४ गते हेटौंडामा संसदीय दलको बैठक राख्ने भएको छ । बैठकले सकेसम्म सहमतिको आधारमा, नभए लोकतान्त्रिक विधिबाट भएपनि संसदीय दलको नेता चयन गर्ने जनाईएको छ ।
एमालेबाट संभावित मुख्यमन्त्रीका ३ जना दाबेदार निर्वाचनमा पराजित भएसँगै सिनियर नेता एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया (जे.एन) दलको नेता सर्वसम्मत हुने संभावना बढेको छ ।

नेकपा माओवादी केन्द्रले पनि पुस १६ गतेभित्र दलको नेता छान्ने जनाएको छ । माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलका अनुसार १५ या १६ गते भित्र दलको नेता छनोट हुनेछ । माओवादी केन्द्रभित्र दलको तेताको लागि पौडेल सहित शालिकराम जम्कट्टेल र युवराज दुलालको चर्चा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*