पुस २४ गतेदेखि पाँचौ बागमती गोल्डकप प्रतियोगिता हुने

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा पाँचौ‍ संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ ।

यहि पुस २४ गतेदेखि माघ ३ गतेसम्म बागमती – ८ को जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जानकारी दिएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिका संयोगक टीकलाल श्रेष्ठले प्रतियोगितामा एक विदेशी टिमदेखि ७ वटा ए डिभिजन क्लब र २ वटा मोफसलको क्लबहरुले सहभागिता रहने बताए । उनले फुटबल खेलको विकास, स्थानीय खेलाडीहरुको प्रोत्साहन र खेलाडीहरुको बीचमा भ्रातृत्वको विकास गर्न प्रतियोगितालाई निरन्तरता दिन लागेको बताए ।

उनले प्रतियोगिताका उपाधि विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र र हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले बताए ।

आयोजक अनुसार प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर ११, जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने छ ।

प्रतियोगितमा करिब ७१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने र अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट प्राप्त हुने आयोजकले जनाएको छ ।

चौथो संस्करण प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले हात पारेको थियो । अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो । गत वर्षको विजेता टोली थ्रीस्टार यसपटक सहभागी नहुने जानकारी आएको आयोजकले जनाएको छ ।

बागमती गोल्ड कपको पहिलो उपाधि हरिहरपुरगढीले, दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लबले हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*