को बन्लान् बागमती प्रदेशको मुख्यमन्त्री ?
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री कुन दलले प्राप्त गर्छ भनेर हिजोआज अड्कलबाजी गर्न थालिएको छ । मुख्यमन्त्री बन्नका लागि दावि गरेका दलहरुले संसदीय दलको नेता पनि चयन गरिसकेका छन् ।
यस प्रदेशमा मुख्यमन्त्री बन्ने धेरै संभावना भने नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता बनेका जगन्नाथ थपलियाको धेरै संभावना रहेको छ । यता पछील्ला दिनहरुमा यस प्रदेशमा निर्णयक रहेको राप्रपाले पनि सार्वजनिक रुपमै मुख्यमन्त्री माग गरिसकेको छ । प्रदेश खारेजको माग गर्ने राप्रपाले मुख्यमन्त्रीको दावि गरेको सुहाएन भन्ने नेताहरु पनि छन् । नेकपा माओबादी केन्द्रका तर्फबाट संसदीय दलको नेता बनेका शालिकराम जमकट्टेलले पनि यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि केन्द्रमा बसेर लभिङ गरिरहेका छन् ।
केन्द्रको निर्णयपछी मात्र बागमती प्रदेशमा को मुख्यमन्त्री बन्नेकुरा तय हुने र त्यही अनुसार कार्यान्वयन हुने एमाले बागमती प्रदेशका संसदीय दलका नेता थपलियाले वताए । यता माओवादी केन्द्र र एमालेका सांसदहरु केन्द्रको ग्रिन सिग्नल विना सरकार गठन प्रक्रिया सुरु नहुने प्रतिक्रिया दिए । केन्द्रमा सबैकुराको सहमति बनेपछि मात्र सरकार गठनको प्रक्रिया सुर हुने उनीहरुको भनाई छ ।
‘पावर सेयरिङ्गको अधिकार प्रदेशमा छैन । प्रदेशको भागबण्डा केन्द्रमा नै हुन्छ । केन्द्रको ग्रिन सिग्नल नआएसम्म हामीले कुनै पर्छ ।’ एमालेका एक सांसदले भने, ‘सत्ता र शक्तिको भागबण्डा टुंगिए लगत्तै प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नुहुन्छ । अहिलेको समस्या भनेको दलीय गठबन्धन र पावर सेयरिङ्गको मात्र हो ।’
केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरणले नयाँ मोड लिएको छ । प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० प्रदेशसभा सदस्य सिट संख्या रहेको बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना संसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् । बागमती प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धनका मुख्य तीन वटा दलहरूले दावी गरेका छन् । प्रदेश सरकरको नेतृत्वमा एमाले माओवादी केन्द्र र राप्रपाको समेत दावी रहेको छ ।
























