चौथो स्थानीय तह सहिद स्मृति गोल्डकपबाट २१ लाख बचत
हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघले गत जेठ महिनामा आयोजना गरेको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट २१ लाख ३६ हजार रुपैयाँ बचत भएको छ । संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
कुल १ करोड ३१ लाख ५६ हजार रुपैयाँ आम्दानी भएको र एक करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी गराउनुभयो । प्रतियोगिता आयोजनाका लागि मकवानपुरका स्थानीय तहहरुले मात्रै झण्डै ६० लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट ४१ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २४ लाख १६ हजार रुपैयाँ, ८ वटा गाउँपालिकाहरुबाट ३३ लाख ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि ६ लाख ९८ हजार रुपैयाँ मूल्यको बुलेट मोटरसाइकल हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना गरिएको प्रतियोगितामा टिकटबाट मात्रै २२ लाख रुपैयाँ आम्दानी भएको बताइएको छ ।
























