राष्ट्रपति भण्डारी आज हेटौंडा आउँदै , हेटौंडाको सुरक्षा ब्यवस्था कडा
हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी आज बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएकी छन् । हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पातालको नयाँ भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आउन लागेकी हुन् । राष्ट्रपति भण्डारी आउने भएपछि हेटौंडाको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईका अनुसार राष्ट्रपति भण्डारी बिहान ११ बजे हेटौंडा अस्पतालको कार्यक्रम स्थल आइपुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले उद्घाटन गर्न लागेको अस्पतालको नयाँ भवन संघीय सरकारको ३५ करोड ३२ लाखको लागतमा निर्माण भएको रजिष्ट्रार प्रसाईले बताए ।
विगतमा ५० बेडको हेटौंडा अस्पताल हाल २ सय बेडको सुविधा सम्पन्न अस्पतालमा परिणत भएको उनले बताए । नयाँ भवन निर्माण भएसंगै अस्पतालले आफ्ना सेवाहरु र जनशक्ति थप गरेर उपचारको कामलाई गुणस्तरिय बनाउँदै लगेको उनको भनाइ छ ।
अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको इमरजेन्सी बेड संख्या ८ बाट २४ वटामा वृद्धि भएको छ । अस्पतालमा हाल ५७ जना चिकित्सकहरु कार्यरत रहेकोमा ३८ जना विषेशज्ञ डाक्टरहरू छन् । अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना समेत गरेर २ सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।
हाल अस्पतालमा १७ बेडको आइसियू, २० बेडको एचडीयू क्षमता र ६ बेडको डायलिसिस सेवा सञ्चालन रहेको छ । अस्पतालले ५०० बेडको लागि पर्याप्त हुने अक्सिजन प्लान्ट जडान गरेको छ । अस्पतालले पछिल्लो पटक मनोरोगको विशेषज्ञ सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ । नयाँ भवन बन्नुअघि दैनिक ४ सय जनालाई मात्रै सेवा प्रदान गर्दै आएको अस्पतालले हाल दैनिक ७ सय जनाभन्दा बढीलाई सेवा दिइरहेको छ ।
























