बिहीबार हेटौँडामा चलचित्र ‘निलो फूल’ निःशुल्क देखाईदै
हेटौँडा, १६ फागुन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित चलचित्र ‘निलो फूल’ निःशुल्क प्रदर्शन हुने भएको छ । फ्रेण्ड्स हेटौँडा मकवानपुरको समन्वयमा यही फागुन १८ गते हेटौँडाको एनएस सिनेमाजमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । बिहान १० बजे सुरु हुने शोमा चलचित्रका कलाकारहरु, निर्माता निर्देशक सँगै बागमती प्रदेशका सामाजिक विकास मन्त्रीको समेत उपस्थिति रहने फ्रेण्ड्स हेटौँडाका कार्यक्रम संयोजक किरण थापाले जानकारी दिए ।
सुनिल बाबु पन्तको निर्देशन तथा निर्माणमा बनेको ‘निलो फूल (ब्लु फ्लावर) लघु चलचित्र निःशुल्क प्रदर्शन गर्न लागिएको हो । यो लघु चलचित्र यस अघि काठमाडौँ, नेपालगन्ज, बिराटनगर, बुटवल लगायतका स्थानहरुमा प्रदर्शन भइसकेको छ । चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्र सामाजिक विषयवस्तुमा आधारित भएकाले सबै सामाजिक अभियान्ता र दर्शकहरुलाई उक्त चलचित्र हेर्न कार्यक्रम संयोजक थापाले अनुरोध गरेका छन् ।
























