प्रदेश सरकारमा पनि आलोपालो गर्छौं – प्रचण्ड
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ४ मंसिरको चुनावअघिकै गठबन्धन कायम भएको भन्दै अब संघ र प्रदेश सरकारलाई पूर्णता दिने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाबाट ११ दलको विश्वासको मत पाएको भन्दै उनले अब प्रदेश सरकारलाई पनि आलोपालोमा पूर्णता दिने बताएका हुन् । गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी– साहिलटार सडक शिलान्यास गर्दै मंगलबार उनले भने, ‘प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रुपमा काम अगाडि बढाउने‘।’
प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संघीय सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार गर्ने समझदारी भएको स्रोतहरुको दाबी छ । प्रधानमन्त्रीले प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीमा पूर्णता दिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संघीय सरकारलाई पूर्णता दिन पनि छलफल सुरु भइसकेको बताए । ‘हिजोबाट फेरि राजनीतिक वातावरण, एउटा लय पक्डिएको छ । झण्डै ११ वटा पार्टीको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । आज विहानबाटै नेपाली कांग्रेस र अन्य पार्टीहरुसँग गम्भीर संवाद छलफल भएको छ सरकारलाई पूर्णता दिने बारेमा’ उनले भने ।
आफ्नो चुनाव क्षेत्रमा सडक शिलान्यास गर्दै प्रचण्डले चुनावको दौरान आफूले गरेको प्रतिवद्धता पूरा गर्ने बताए । ‘केही राजनीतिक घुम्ती र मोड पार गरेर हिजो मात्र नयाँ राजनीतिक समीकरण अथवा पुरानै समीकरण भनेपनि हुन्छ, चुनाव लड्दाको समीकरणबाट विश्वासको मत प्राप्त गरेको भोलिपल्ट गोरखामा आएर सडक शिलान्यास गर्ने अवसर मिल्यो, म अत्यन्तै खुशी छु,’ उनले भने ।
सडक शिलान्यास सामान्य नभई निर्वाचनको बेला जनताको अगाडि गरेको प्रतिवद्धता पूरा गर्ने कुराको उद्घाटन समेत रहेको उनले जानकारी दिए ।
























