सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक

काठमाडौं । सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले बताएका छन् ।

शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्य संघर्ष दाहालले बताए ।

मिटरब्याज पीडितको तर्फबाट वार्तामा सहभागी दाहालका अनुसार पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि प्रत्येक जिल्लामा अलग्गै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भएका छन् । ‘आगामी दिनमा सरकारले चाल्ने कदमबारे दुवै पक्ष सहमत भएका छौं,’ दाहालले भने । अहिले खाना खानका लागि छोटो ‘ब्रेक’ भएको र खाना खाइसकेपछि फेरि बस्ने वार्तामा बाँकी छलफल हुने उनले बताए ।

उनका अनुसार मिटरब्याज समस्याका कारण हिजोको दिनमा देखापरेका समस्याहरु समाधान कसरी गर्न सकिन्छ भन्नेमा वार्ता केन्द्रित छ । जालसाजीपूर्ण तरिकाबाट फसाइएका, अदालतबाट सजायँ तोकिएका र पक्राउ पुर्जी जारी भएका पीडितलाई तत्कालीन समयमा कसरी न्याय दिने भन्ने छलफल अवको वार्तामा हुने र प्राथमिकता साथ समाधानका लागि पहल हुने दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*