बालकृष्ण खाँडद्वारा नागरिकता विधेयक पारित गराउन सरकारसँग आग्रह
जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयक अविलम्ब पारित गराउन सरकारसँग आग्रह गरेका छन्।
आइतबार जनकपुरधामस्थित कांग्रेसको मधेस प्रदेश कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले लाखौँ नेपाली आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा भोगिरहेकाले सो विधेयक प्रमाणीकरण गराउन पहल गर्न सरकारलाई अनुरोध गरेका हुन्।
संविधानले प्रत्येक नेपालीलाई नागरिकता प्राप्त गर्न पाउने अधिकार दिएकाले त्यस अधिकारबाट वञ्चित गर्ने अधिकार कसैसँग नरहेको उनको भनाइ छ।
‘संवैधानिक व्यवस्थाअनुसार एकपटक विधेयकलाई रायसहित राष्ट्रपतिले फर्काउन सक्ने व्यवस्था छ तर दोस्रो पटक प्रमाणीकरणबाहेक अर्को कुनै विकल्प हुँदैन’, नेता खाँडले भने, ‘राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई अड्किएर रहेको सो नागरिकता विधेयक प्रमाणीकरणका लागि वर्तमान सरकारले पहल गर्नुपर्छ र यसका लागि हामीले अग्रसरता देखाउने छौँ।’
यस्तै, विभिन्न आन्दोलनका क्रममा नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता प्रक्रियासमेत अविलम्ब अगाडि बढाउन उनले सरकारसँग अनुरोध गरे।
उनले भने, ‘म गृहमन्त्री हुँदा संसद बन्द रहेपछि रिहाइका लागि अध्यादेश ल्याएका थियौँ। अब त्यसलाई विधेयकको रुपमा लगेर पारित गराउनुपर्छ।’
अर्को प्रसंगमा खाँडले नेपाली कांग्रेस सरकारमा सामेल भइसकेको अवस्थामा प्रदेश सरकार पनि पुनर्गठन हुने बताए।
उनले सबै प्रदेशमा आलोपालो गरी मुख्यमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको पनि बताए।
























