हेटौँडामा संक्रमणकालिन न्यायको अवस्था र चुनौतिका बारेमा नागरिक संवाद
हेटौँडा, २८ चैत्र । ‘मानव अधिकारको लागि महिला, एकल महिला समूह’ को आयोजनामा हेटौँडामा आज ‘संक्रमणकालिन न्यायको अवस्था तथा चुनौति’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष शान्ता विश्वकर्माको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत विष्णुकमारी लामिछाने तथा वडा नम्बर १ का वडा अध्यक्ष सबिन न्यौपानेको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल मानव अधिकार संगठनका शर्मिला श्रेष्ठ,जिल्ला रेडक्रस सदस्य कृष्ण बहादुर सापकोटा,द्वन्द पीडितका जिल्ला अध्यक्ष नानु गुणी,कानुन व्यवसायी अधिवक्ता श्रद्धा ढुंगाना,राष्ट्रिय भुमी अधिकार मञ्चका मिरा स्याङ्तान,जिल्ला समन्वय समितिका प्रतिनिधि,राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि,प्रहरी,वडा सदस्य,संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अधिवक्ता अप्सरा बस्नेतले संक्रमणकालिन न्यायको ऐनका व्यवस्था र संशोधन प्रस्तावका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी द्वन्दपिडितहरुले द्वन्द पीडितको परिचयपत्र कुनैपनि चिनारी अहिलेसम्म नभएको र द्वन्दपिडितका छोराछोरी र परिवारले राज्यबाट शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सेवासुविधाको उचित व्यवस्था नभएको गुनासो गरेका थिए ।
तत्कालिन द्वन्दकालमा आफ्नो सम्पत्ति, गरगहना लुटिएको भन्दै एक द्वन्दपिडितले निकै कष्टकर जीवन व्यतित गरेको र आफुले आजसम्म त्यसको क्षतिपुर्ति नपाएको गुनासो गर्नुभयो ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बानियाँले द्वन्दपिडितका परिवारलाई राहत दिन स्थानीय सरकारको निति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले द्वन्दपिडितका समस्या समाधानका लागि स्थानीय तहबाट आफुले सकेको सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष शान्ता विश्वकर्माले वास्तविक पिडितले न्याय पाउनुपर्ने र पिडकलाई उन्मुक्ति दिने ऐन कानुनको संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।
सस्थाको महासचिव शारदा चौलागाईंले सन्चालन गर्नु भएको कार्यक्रमको उद्देश्य सस्थाका प्रदेश अधिकृत अप्सरा अर्यालले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कल्पना आचार्यले गर्नुभएको हो ।
























