उपनिर्वाचनको नतिजाले मुख्य राजनीतिक दललाई चुनौती दियो – माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको उपनिर्वाचनको मतपरिणामले मुख्य राजनीतिक दलहरूलाई चुनौती दिएको बताएका छन्।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले मुख्य राजनीतिक दलहरूलाई अहिले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

उनले उपनिर्वाचनमा प्राप्त भएको परिणामले मुख्य राजनीतिक दललाई चुनौती दिएको र अहिले पनि नसच्चिए आउने दिन सजिलो नहुने बताए।

‘जनताले अहिले चाहेको कुरा पारदर्शिता, सुशासन, सामूहिकता, जनतालाई सहज सेवा, जनताको पीरमर्काको सम्बोधन, राजनीतिमा भएको विकृतिहरूबाट उन्मुक्ति, विकास निर्माणमा गति, क्वालिटी, समयमा काम सम्पन्न गर्नुपर्ने, अन्याय अत्याचार गर्नेहरूमाथि कारवाही गर्न चाहेका छन्’, उनले भने।

राजनीतिमा गुण्डातन्त्र हावी भएको भन्दै अहिले राजनीतिक दलका नेताहरूमाथि गम्भीर प्रश्न उठेको अध्यक्ष नेपालको भनाइ छ।

उनले भने, ‘साधनस्रोतको चरम दुरुपयोगदेखि लिएर बजेटको दुरुपयोग गरेको प्रश्न उठेको छ। यसलाई नियन्त्रण गर्न सकिए जनताको विश्वास जित्न सकिन्छ।’

यस्तै, उनले अब ७० वर्ष कटिसकेका नेताहरूलाई सन्यास लिनुपर्ने बताए। उनले आउँदो अधिवेशनबाट आफू पनि राजनीतिबाट सन्यास लिने भन्दै अब युवाहरूलाई मौका दिनुपर्नेमा जोड दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*