अयोग्य लडाकुलाई २ लाख रूपैयाँ दिने निर्णय मेरो होईन – प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अयोग्य लडाकुलाई २ लाख रूपैयाँ दिने निर्णय आफ्नो नभएको दावी गर्नुभएको छ ।
सोमबार बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । प्रधानमन्त्री दाहालले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेको बताउनुभयो । अहिले आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको उहाँको दावी छ।
२०७१ सालमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय कार्यान्वयन पनि भएको उहाँको भनाइ थियो। त्यो विषय अदालतसम्म पुगेको र अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि पैसा दिने प्रक्रिया रोकिएको उहाँले बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री हुनुभन्दा केहीअघि पुनः अदालतले नरोक्न भनेपछि अयोग्य लडाकुलाई पैसा दिने निर्णय गरेको बताउनुभयो ।
अहिले आफूले गरेको निर्णय भनिएर जसरी प्रचार गरिएको कुरा विल्कुल झुटो भएको उहाँले बताउनुभयो । अदालतको फैसलालाई आधार बनाएर यो निर्णय कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
























