रुटमा चल्ने विद्यूतिय गाडीको माग बढ्दो

मकवानपुर, १ जेठ । हेटौँडामा विद्यूतिय गाडीको माग बढ्न थालेको छ । हेटौँडा ११ थानाभर्याङमा अवस्थित ईभी कार्स एण्ड मोटर्स प्रा.लि.मा विद्यूतिय गाडीका बारेमा बुझ्न आउने ग्राहकहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको संचालक युवराज आचार्य बताउँछन् । आचार्यका अनुसार अहिले ग्राहकहरुले रुटमा चलाउन मिल्ने विद्यूतिय सवारीका बारेमा चासो देखाएका छन् । पछिल्लो समयमा सार्वजनिक यातायातको रुपमा विद्यूतिय सवारी बढी बिक्री भएको आचार्यले बताए । अहिले शोरुमबाट विभिन्न मन्टेश्वरी स्कूलहरुले पनि विद्यूतिय गाडीहरु खरिद गरेको उनी बताउँछन् ।

हेटौँडा–बिरगंज रुटमा विद्यूतिय सवारी चलाईरहेका बरुण कुमार थिङका अनुसार पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनभन्दा विद्यूतिय सवारी साधनमा कम खर्च हुने गर्छ । खर्च कटाएर दैनिक ५ देखि ७ हजारसम्म कमाई गर्न सकिने उनले बताए । कम खर्चमा कमाई राम्रो हुने भएपछि थिङले हेटौँडा–नारायणगढ रुटमा चल्ने अर्को गाडी पनि आफुले खरिद गरेको बताउछन् । थिङका अनुसार हेटौँडा र नारायणगढमा चार्जिङ स्टेसन भएको र विरगंजमा पनि चार्जिङ स्टेसन भईदिए आफुहरुलाई सहज हुने बताए ।

त्यस्तै अर्का यातायात व्यवसायी शुलभ श्रेष्ठले पनि ४ महिना अधि हेटौँडा–विरगंज–नारायणगढ रुटमा चल्ने ११ सिटर ईलेक्ट्रिक गाडी खरिद गरी संचालन गरिरहेका छन् । आफुले ड्राईभर राखेर गाडी संचालन गराईरहेका श्रेष्ठले सबै खर्च कटाएर दैनिक ५–६ हजार कमाई गर्न सकिने बताउँछन् । विद्यूतिय गाडीका लागि दैनिक खर्च एकदमै कम हुने गरेको उनी बताउँछन् । उनका अनुसार गाडीमा दैनिक १ हजारदेखि १ हजार २ सयसम्म खर्च हुने गर्छ । वातावरण मैत्री, अन्य गाडीको भन्दा वार्षिक कर कम पर्ने, प्रदूषण नगर्ने र आरामदायी समेत भएकाले विद्यूतिय गाडीबाट आफु सन्तुष्ट रहेको श्रेष्ठले बताए ।

शोरुममा बिजुलीबाट चल्ने कार, सामान बोक्न मिल्ने पिकअप भ्यान, माइक्रोबस, बस तथा स्कुटरहरु बिक्री भैरहेको सञ्चालक आचार्यले जानकारी दिए । शोरुमको आफ्नै चार्जिङ स्टेशन समेत भएकाले गाडी चार्ज गर्न पनि समस्या नहुने आचार्य बताउँछन् । विद्युतिय सवारीले वातावरणीय स्वच्छता कायम गर्ने मात्र नभई यसले ईन्धनको खपतलाई न्यून बनाउन महत्वूर्ण भूमिका खेल्ने गरेको छ । डिजल,पेट्रोल ईन्धनको मूल्य निक्कै महङ्गो भएकोले मानिसहरुको चासो विद्युतिय सवारी तर्फ बढेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*