संविधानको पुनःमूल्यांकनको बेला भएको छैन : रामवरण यादव
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्।
शुक्रबार काठमाडौँमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रूपमा संविधान लागू गरेर जाने समय रहेको जिकिर गरे।
उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे।
प्रथम राष्ट्रपति यादवले भने, ‘संविधानलाई पुनःमूल्यांकन गर्ने बेला भएको छैन। यसलाई लागू गर्नेतिर हामी जाऔँ। एकाध चुनावहरू हुन्, राम्रोसँग यो लागू होस्, त्यो हामी चाहन्छौँ। यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ। भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ। हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानुनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ।’
कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरूले संविधान अनुकुल काम नगर्दा पुस्तकबाट जनतामा सुसुचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए।
उनले विधिलाई शासकले शासन गर्नेकुरा सह्य हुन नसक्ने बताए।
























