हेटौंडामा विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाईदै
हेटौंडा । टोलविकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले ५१ औं विश्व वातावरण दिवस सप्ताहब्यापी कार्यक्रम गरी मनाउने भएको छ । जेठ १६ गतेबाट जेठ २२ गतेसम्म विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अघिकारीको संयोजकत्वमा ५१ औँ विश्व वातावरण दिवस मूल समारोह समित गठन गरी सप्ताह व्यापी कार्यक्रम आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । ‘प्लाष्टिकजन्य प्रदूषण निमूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ ५१ औँ विश्व वातावरण दिवस मनाउन लागिएको हो ।
जेठ १६ गते हेटौंडाको राप्तीखोलामा विशेष सरसफाई कार्यक्रम र वातावरण संरक्षण सम्बन्धी चेतना मूलक टिकटक प्रतियोगिता हुने मुल आयोजक समाराहेक समितिका संयोजक अधिकारीले जानकारी दिए । जेठ १६ गतेबाट २१ गतेसम्म वातावरण संरक्षण सम्बन्धी टिकटक बनाउने व्यक्तिलाई विभिन्न मापनको आधारमा प्रथम हुनेलाई नगद १० हजार द्वितीय हुनेलाई नगद ५ हजार र तृतीय हुनेलार्य नगद ३ हजार रुपैयाँ प्रदान गर्ने उनले बताए ।
जेठ १७ गते सर्जक सञ्जाल मकवानपुरको संयोजनमा पर्यावरण संरक्षण सम्बन्धी खुल्ला कविता प्रतियोगिता गरिने छ । सोही दिन सामुदायिक प्रहरी सेवा केन्द्र र मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा ६ सय वटा सार्वजनिक सवारी साधनमा स्टिकर टास्ने तथा डस्बिन वितरण गर्ने, जेठ १८ गते हेटौंडा ५ का विभिन्न ४ स्थानमा वातवारण संरक्षण तथा लागुपदार्थ दुव्र्यसनी विरुद्ध सडक नाटक प्रदर्शनी गर्ने , ४० मोईक्रोन भन्दा कमको प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध सम्बन्धी सरोकारवालाहरुसँग अन्तर्गत गर्ने जेठ १९ गते रक्तदान कार्यक्रम, बाल क्लब स्तरीय वक्तृत्वकला प्रतियोगिता, वृक्षारोपण कार्यक्रम नगरी भरी मागमा आधारीत समेत गरी, जेठ २० गते सफा हेटौंडा अभियान अन्तर्गत विशेष सरससफाई कार्यक्रम १९ वडामा एउटै समयमा, वातावरण सचेतना सम्बन्धी साईकल र्याली तथा सम्मान कार्यक्रम हुनेछ ।
त्यसैगरी जेठ २१ गते आइ क्यारी माइ वन डष्टविन अभियान, नगर विद्यालय स्तरीय खेर गएका वस्तुहरुबाट उत्पादन सामग्रीको प्रतिस्पर्धा, जेठ २२ गते कपडाको झोला वितरण कार्यक्रम, उत्कृष्ट टोल विकास संस्था पुरस्कृत गर्ने र वातावरण सचेतना सम्बन्धी र्याली सहित समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम रहेको उनले बताए ।
























