आउँदो असोज ८ र ९ गते एमाले बागमती प्रदेश कमिटीको अधिवेशन हुने

हेटौंडा । आउँदो असोज ८ र ९ गते नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशन हुने भएको छ । अधिवेशनको स्थान तय नभइसकेपनि मिति भने तय भएको हो । अहिले भइरहेको प्रदेश कमिटीलाई घटाएर सानो आकारको कमिटी बनाउने तयारी पनि गरिएको छ ।

अहिलेको बागमती प्रदेश कमिटीबाट धेरै नेताहरु बाहिरीने छन् । उनीहरुलाई जिल्ला र पालिका स्तरमा जिम्मेवारी दिने नेताहरुले बताएका छन् । ‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ । अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसक्यो’, केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले भने ।

उनका अनुसार, कोशी प्रदेशको अधिवेशन १२–१३ असोजमा हुनेछ । मधेश प्रदेशले ५–६ असोजमा हुने भएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । १६–१७ भदौमा लुम्बिनी, २९–३० भदौमा कर्णाली र २२२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।

अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ । प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ ।

प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ । ‘पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यसै आधारमा अधिवेशनको प्रतिनिधि चयन हुनेछ, प्रतिनिधि छनोट पनि त्यसैमा आधारित हुनेछ’, कार्यालय सचिव अधिकारी भन्छन् ।

एमालेले आउने एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ । त्यसअनुसार, सवैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारीमा पार्टी पंक्ति परिचालित भएको अधिकारी बताउँछन् ।

प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*