पदमपोखरीका तेजबहादुरको उमेर ४७, कक्षा ६

हेटौंडा । गलामा रातो र नीलो धर्का कोरिएर विद्यालयको नाम लेखिएको टाई अनि ज्यानमा नीलो सर्ट र खैरो पाइन्ट। पछाडि कालो ब्याग, हातमा टिफिन बक्स र पानीको बोतल। हेटौंडा–१३ पदमपोखरीका ४७ वर्षीय तेजबहादुर वाइवाको दिनचर्या अचेल यसैगरी बित्ने गरेको छ।

तेजबहादुरलाई विद्यालयका शिक्षकले दिएका गृहकार्य पूरा गर्ने चटारो बढेको छ। लामो समय गाडीको स्टेरिङ चलाएका तेजबहादुरको हातले कलम र कापी समाउन थालेका छन्। साना बालबालिकासँगै बेन्चमा बसेर जानी नजानी कक्षाकार्य सिकिरहेका छन् उनी।

सानो छँदा कक्षा ४ सम्म पढेका उनलाई अहिले पढाइ नभएकै कारण आफूले केही गर्न नसकेको महसुस भएपछि केही हप्ताअघि मात्र उनी गाउँकै कालिका आधारभूत विद्यालयमा कक्षा ६ मा भर्ना भएका हुन्। ‘सानो छँदा पढ्दापढ्दै गलैँचा बुन्ने कामतिर लागियो। पैसाको खाँचो हुन्थ्यो, त्यसैले पढ्नेभन्दा पनि पैसा कमाउनेतिरै ध्यान गयो। गलैँचा बुनेरै पैसा पनि कमाएँ, तर पढाइजति आवश्यक कुरा केही रहेनछ भन्ने बुझेर पढ्न सुरु गरेँ’, उनले भने।

पढाइ छाडेको ४० वर्षपछि पुनः सुरु
८ वर्षको हुँदा पढाइ छाडेका तेजबहादुर ४० वर्षपछि विद्यालय भर्ना भएका हुन्। १२ वर्षसम्म काठमाडौंमा गलैँचा बुनेर जीविका चलाएका उनले यो कामसँगै ड्राइभिङ पनि सिके। त्यसपछि लाइसेन्स बनाएर २० वर्ष विभिन्न प्रकारका सवारीसाधन हाँके। यसपछि ८ वर्षभन्दा धेरै वैदेशिक रोजगारीमा समेत समय बिताएका उनलाई पाइलापाइलामा पढाइ छाड्नुको पीडाले सताइरह्यो।

ऊबेलाको पढाइ बल्लतल्ल अलिअलि नेपाली शब्दहरु फड्काल्नबाहेक केही नआउने। यही कारण विदेशमा पनि थुप्रै समस्या आइपरेको स्मरण गर्छन् उनी।

‘अलिकति पढ्न मात्रै जानेको भए पनि सजिला काम पाउँथे होला जस्तो लाग्थ्यो। हामीजस्ता नपढेकाहरुलाई बाहिरी काम मात्रै लगाउने रैछन्। त्यसपछि विदेशबाट फर्किने बेलामै अब नेपाल गएर पढ्न सुरु गर्छु भन्ने अठोट लिएर आएको थिएँ’, उनले भने।

स्कुल भर्ना हुन लाज
त्यसो त तेजबहादुरलाई यो उमेरमा स्कुल पढ्न सुरुसुरुमा निकै लाज लाग्यो। कसैले छ्या यस्तो उमेरमा आएर पनि पढ्छन् भनेर जिस्क्याए के जवाफ दिने होला भन्ने कुराले दोधारमा पार्‍यो। तर पनि उनले साहस गरे।

‘गाउँकै मनोजकुमार वाइवा काकालाई मैले भनेँ( काका म फेरि पढ्न चाहन्छु। मैले पढाइ नहुँदा धेरै ठक्कर खानुपर्‍यो। मलाई कुन विद्यालयमा भर्ना गर्ने हो गर्दिनुस् न’, उनले भने।

‘त्यसपछि उहाँले तैंले धेरै रहर गरिराको छस्, म स्कुलमा कुरा गर्छु यो उमेरमा भर्ना लिन्छ कि लिँदैनरु त्यसपछि पढ्ने कि नपढ्ने भन्छु। उहाँको यो जवाफले पढ्न पाइन्छ कि भन्ने ठूलो आशा जागेर आयो’, खुसी हुँदै उनले सुनाए।

पढ्ने रहर त उनलाई धेरै पहिलादेखि नै लागेको थियो, तर समाजले के भन्ला भन्ने डरले रोकिएको उनी बताउँछन्।

श्रीमतीको साथ
तेजबहादुरलाई पुनस् पढाइ सुरु गर्न सबैभन्दा ठूलो सहयोग उनकी श्रीमती बिन्दु वाइबाले गरिन्। पतिको पुनस् पढ्ने इच्छा धेरै समय अघिदेखि रहेको थाहा पाएकी बिन्दुले नै तेजबहादुरलाई विद्यालय जान प्रोत्साहन गरेकी हुन्।

‘म विद्यालय भर्ना हुनुमा मेरी श्रीमतीको ठूलो हात छ’, उनले भने, ‘यो उमेर भनेको पढ्ने, लेख्ने होइन। पैसा कमाउन पर्छ। व्यवहार चलाउन पर्छ भनेर उनले भनेकी भए कहाँ पढ्न पाउँथेँ र१ जानुस् २र४ वर्ष मात्रै भए पनि पढ्नुस् भनेर पठाएकी छन्, त्यसैले यसरी १० देखि ४ बजेसम्म कक्षाकोठामै बसेर पढ्न पाएको छु।’

ससाना साथीसँग बित्छ दिन
कक्षामा रहेका साना साथीहरु उनकै गाउँका छोराछोरीदेखि नातिनातिनापर्नेसम्म छन्। घरमा हुँदा अभिभावकको भूमिकामा रहे पनि कक्षाकोठामा तिनै साना साथीहरुसँग उनको दिन बित्ने गरेको छ। सबै आफ्नै साइनो पर्ने बालबालबालिकासँग पढ्न बस्दा तेजबहादुरलाई पनि रमाइलो लागिरहेको छ।

साना बालबालिकाहरुले जिस्क्याउने गर्छन् कि गर्दैनन्रु यो प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यस्तो भएको छैन। उनीहरु आफ्नै सुरमा हुन्छन्। जिस्क्याउने भन्दा पनि पढ्नका लागि सहयोग गर्ने, सिकाउनेचाहिँ गरिरहेका हुन्छन्।’
नेपाल खवरका लागि सुनिता विष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।

एसईई पास गर्ने इच्छा
केही वर्ष पढेर अक्षर चिन्ने मात्रैभन्दा पनि एक तहको पढाइ पूरा गर्न चाहन्छन् तेजबहादुर।

‘अब ४ वर्ष दुःख गरेर पढेर भए पनि एसईईसम्मको पढाइ पूरा गर्ने चाहना छ’, उनले भने।

उमेर ढल्किसकेपछि सुरु गरेको पढाइले पास हुन सक्छु कि सक्दिनँ भन्ने सोचिरहेका उनी जसरी पनि एसईई उत्तीर्ण गर्ने लक्ष्य रहेको बताउँछन्।

लगनका साथ पढाइमा ध्यान दिनुभएको छ – प्रध्यानाध्यापक
कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक रामकृष्ण न्यौपाने तेजबहादुरले लगनका साथ पढाइमा ध्यान दिएको बताउँछन्।

‘लामो समय पढाइ छाडेर बसेका उनमा पढ्ने इच्छाशक्ति धेरै रहेको हामी शिक्षकहरुले देखेका छौँ। उमेर ठूलो हुँदैमा पढ्न आउँदैन भन्ने हुँदैन भन्ने उदाहरण हुन् उनी’, प्रधानाध्यापक न्यौपानेले भने, ‘पढ्नपर्‍यो भनेर विद्यालयमा सल्लाह गर्न आउनुभएको थियो। नेपालमा पढाइका लागि उमेरहद छैन, पढ्नोस् भनेर मैले सल्लाह दिएँ। तर त्यसका लागि अरु विद्यार्थीहरुले पालना गरेका सबै अनुशासन तपाईंले पनि पालना गर्नुपर्छ। विद्यालय पोसाकदेखि सबै अनुशासनमा बस्नुपर्छ भनेको थिएँ। उहाँले मञ्जुरी जनाउनु भएर भर्ना हुनुभयो।’

हाँस्दै न्यौपानेले थपे, ‘तेजबहादुर त मैले भनेर पठाएको एक हप्ताभित्रै विद्यालय पोसाक तयार गरेर लगाएर आउनुभएछ। निकै खुसीको साथमा हामीले उहाँलाई विद्यालयमा स्वागत गर्‍यौँ। राम्रो पढिरहनुभएको छ।’

आफ्नो विद्यालयमा कक्षा ८ सम्म मात्रै कक्षा सञ्चालनमा रहेको र त्यसपछि अर्को विद्यालयमा गएर कक्षा १० सम्म पढ्नका लागि समेत सहजीकरण गरिदिने प्रधानाध्यापक न्यौपानेले प्रतिबद्धता जनाएका छन्। नेपाल खवरका लागि सुनिता विष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*