कोशीमा आलोपालो सरकारको नेतृत्व गर्न एमालेले माओवादीलाई गर्यो प्रस्ताव
काठमाडौं । कोशी प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्न एमालेले माओवादी केन्द्रलाई प्रस्ताव गरेको छ।
सर्वोच्चले गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका उद्धव थापाको नियुक्ति बदर गरेपछि बुधबारसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले समय दिएका छन्।
सरकारमा दाबी गर्न एमाले र सत्तापक्षीय दलबीच तीव्र कसरत भइहरेका बेला एमालेले आलोपालो सरकार चलाउने प्रस्ताव माओवादीलाई गरेको हो।
स्रोतका अनुसार कोशीका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आइतबार माओवादी उपमहासचिव वर्षमान पुनलाई आलोपालो सरकार चलाउने प्रस्ताव राखेका हुन्।
शीर्ष तहमा काठमाडौंमै पनि विभिन्न तहमा छलफल चलिरहेका बेला कार्कीले संसदको बाँकी कार्यकाल मिलेर सरकार चलाउन आग्रह गरेका हुन्। पुनले प्रस्ताव सकारात्मक भएको बताउँदै पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन्।
एमालेका एक नेताले भने, ‘हिक्मतजीको प्रस्ताव माओवादीबाट सकारात्मक भन्ने जवाफ आएको छ।’
९३ सदस्य प्रदेशसभामा सरकार गठनका लागि चाहिने न्यूनतम ४७ सांसदको समर्थन चाहिन्छ। प्रदेशसभामा एमालेको ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुख बाबुराम गौतमबाहेक १२, राप्रपाका ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन्।
यसअघि कार्की नेतृत्वको सरकार एक सांसद नपुग्दा विश्वासको मत नपाएर ढलेको थियो भने थापाको सरकार टिकाउन पनि एक सांसदको अभाव हुँदा सभामुख गौतमलाई हस्ताक्षर गराउँदा सर्वोच्चले नियुक्ति नै बदर गरेको छ।
























