कपनको खहरे खोला उत्खनन गर्ने तयारी , डोजर लिएर कपन पुग्यो महानगर प्रहरी
काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला उत्खनन गर्ने तयारी गरेको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अहिले नापी कार्यालय चावहिलमा काठमाडौं र बूढानीलकण्ठका प्रतिनिधि बीच छलफल भइरहेको छ ।
‘हामी सबै तयारी गरेर कपनमा आएका छौं, वार्ताबाट के निर्णय हुन्छ भनेर कुरिरहेका छौं, डोजर चल्ने सम्भावना रहेको छ,’ पाण्डेले अनलाइखबरसँग भने ।
तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ । नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।
बूढानीलकण्ठ नगरपालिका भने छलफल बिना डोजर चलाइहाल्ने पक्षमा नरहेको जनाएको छ । नगरपालिकाका मेयर मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा मेयर बालेन्द्र साह ९बालेन०सँग भएको सहमति अनुसार नै अगाडि बढ्ने बताए ।
‘आज नापी विभाग गएर नक्सा हेर्न भन्ने कुरा थियो, तर काठमाडौंको मेयर आउनु भएको छैन,’ अधिकारी भन्छन् ।
उनले थप छलफलपछि मात्रै खोला खोल्ने विषयामा के गर्ने भन्ने प्रष्ट हुने बताए । ‘अब बिना छलफल समन्वय गरेर डोजर मात्रै अगाडि बढाएर मात्रै पनि हुँदैन नि’ मेयर अधिकारीले अनलाइनखबरसँग भने ।
नापी विभगमा मेयर नआएपछि जिसस काठमाडौंको छलफलपछि मात्रै निर्णय आउने उनले बताए ।अनलाइनखबरबाट
























