सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्छ – गृहमन्त्री श्रेष्ठ
पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्ने दाबी गरेका छन् ।
यसअघिका अनुभवमा पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको बताउँदै उनले राज्यको संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुलाई काम गर्न दिनु पर्ने बताए ।
प्रेस सेन्टर नेपाल कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले एमालेले छानबिन समितिको माग राख्दै संसद अवरुद्ध गर्नु दुखद् रहेको बताए । ‘हाम्रो अनुभव पनि छ । एकचोटी यस्तै काण्डमा चाहिँ संसदबाट समिति बनाइयो । त्यसको रिपोर्ट आयो सिद्धियो । अर्को एक पटक कमरेड केपी ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २२ किलो सुन काण्डका सन्दर्भमा एउटा छानबिन समिति बनाउनुभयो उहाँहरुले । त्यो छानबिन समितिको रिपोर्ट त आयो तर केही पनि आएन,’ श्रेष्ठले भने, ‘न सुन आयो, न त्यसको सिफारिस कार्यान्वयनमा आयो ।’
छानबिन समितितिर जानुभन्दा पेसागत रुपमा यसकै लागि विकासित गरिएका जसले अनुसन्धान र अभियोजन दुई वटै अगाडि बढाउन सक्छ, त्यहीँबाट दोषी पत्ता लगाउने श्रेष्ठले बताए ।
सीआईबीले यो अनुसन्धान अगाडि बढाउँदा नै दोषीहरु पत्ता लाग्ने र तिनिहरुलाई कानुनको दायरमा पनि ल्याउन सक्ने दाबी श्रेष्ठको छ । ‘होइन भने समिति बनायो, त्यो कसले लागू गर्ने रु अनुसन्धान त त्यसले गर्दैन,’ श्रेष्ठले भने ।
अनुसन्धान र तथ्यप्रमाणले कहाँसम्म दोषी अपराधी देखिन्छ, त्यहाँसम्म जाने श्रेष्ठले बताए । सुन काण्डमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको बाबुछोरा पनि मुछिएको प्रश्नमा श्रेष्ठले कुनै माओवादी पार्टी वा अरु परे पनि नछुट्ने दोहोर्याए । ‘यसमा कोही माओवादी पर्यो भने पनि छुट्दैनन् । कोही कांग्रेस, एमालेको मतलब छैन, कुनै घरनाको मतलब छैन । कुनै सम्बन्धको मतलब छैन,’ श्रेष्ठले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुनु सबैको लागि लज्जाको विषय भएको उनको भनाइ थियो । जुन प्रकारको सुन तस्करी भयो, त्यसले देशको छविलाई नै आघात पुर्याएको, राजश्व र अर्थतन्त्रमै असर परेको श्रेष्ठले बताए ।
























