नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १० वटा सम्झौता र ३ वटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।

यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ र चिनियाँ अधिकारीले नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गरेका हुन् ।

यसैगरी वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् ।

शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीले विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् ।

चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्र आदान प्रदान भएको छ ।

यस्ता छन् सम्झौताहरू :

१. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर ।

२. नेपाल र चीन सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवनयापन सामग्रीपत्र हस्तान्तरण ।

३. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्रमा सहयोग अभिवृद्धि गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।

४. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर ।

५. सिजाली उच्च विद्यालय परियोजना कार्यान्वयन गर्ने सम्झौता ।

६. चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।

७. १९८१ मा चीनमा सम्पन्न वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको चीन–नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरावलोकन र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्ने समझदारीपत्रमा हस्ताक्षर ।

८. चीनको भन्सार सामान्य प्रशासन र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा चिनियाँ औषधि उत्पादन गर्न चाहिने वनस्पति निर्यातका लागि आवश्यक परीक्षणसम्बन्धी प्रोटोकलमा हस्ताक्षर ।

९. चीनको राष्ट्रिय प्रेस तथा प्रकाशन सम्बन्धी प्रशासन र नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच अनुवाद र प्रकाशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।

१०. नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान तथा प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर ।

११. प्रकोप सामग्री सम्बन्धी समझदारीपत्र आदान–प्रदान

१२. मानव संसाधन सम्बन्धी समझदारीपत्र आदान–प्रदान

१३. हिल्सा सिमकोट रोड परियोजना सम्बन्धी समझदारी पत्र आदानप्रदान

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*