चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित भयोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु ।’

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । महासभामा सहभागी भई प्रधानमन्त्री दाहाल त्यतैबाट जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका थिए ।

चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २३ देखि ३० सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्नुभएको हो । प्रधानमन्त्री दाहाल चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी थिए ।

खेदकुदको उद्घाटन समारोह अघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रपति सी चिनफिङसँग अत्यन्त हार्दिक र सौहार्दपूर्ण वातावरणमा भएको द्विपक्षीय वार्तामा दुवै देशमा विद्यमान अवसर र सम्भावनाको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा सघन छलफल भयो ।’

चीनका राष्ट्रपति सि चिनपिङले गरेको नेपाल भ्रमणपछि प्रधानमन्त्री स्तरमा नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उनको भनाइ छ । ‘कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा भ्रमण नभइरहेका सन्दर्भमा मेरो चीन भ्रमणले दुई देशबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु’, प्रधानमन्त्री दाहालले भने ।

भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*