कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै, विश्वासको मत पाउने सम्भावना छैन
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन् ।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।
संविधानको धारा १६८ को ३ अनुसार बनेको सरकारले विश्वासको मत पाउने सम्भावना छैन । किनकि विगतमा एमालेसँगै गठबन्धनमा रहेको राप्रपा सरकारमा छैन ।
कांग्रेस-माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मतका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताउँछन् ।
सरकारसँग विश्वासको मत फेस गर्ने र राजीनामा दिने दुई वटै विकल्प रहेको बताउँदै उनले परिस्थिति हेरेर अघि बढ्ने बताए ।
‘हामी अहिले छलफमा नै छौं,’ विश्वासको मत नपाउने अवस्था आए राजीनामा आउँछ भन्ने प्रश्नमा उनले भने, ‘हामी छलफलमा छौं, परिस्थिति हेरेर अघि बढ्छौं ।’
वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ । उपधारा ५ अनुसार नेतृत्वमा एमालेले पनि दाबी गर्ने भण्डारीले बताए ।
कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धन पनि उपधारा ५ अनुसार सरकार गठनको गृहकार्यमा जुटेको छ ।
























