हेटौंडा उपमहानगरपालिकामा कर्मचारीहरुले गरे पेन डाउन
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले आज पेन डाउन गरेका छन् । संघीय निजामती सेवा ऐन संसद्बाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्न थालेका छन् ।
आज हेटौंडा उपमहानगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यलयको प्राङ्गनमा धर्ना समेत दिएका छन् । उनीहरुले पेन डाउन गर्दै धर्ना दिएका छन् । उपमहानगरपालिका र वडा कार्यालयमा अत्यावस्यक बाहेकका सबै काम ठप्प पारिएको उपमहानगरपालिका संघर्ष समितिका अध्यक्ष लक्ष्मण मैनालीले बताउनुभयो ।
ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै उनीहरूले तत्काल संसद्बाट ऐन पारित हुनुपर्ने उपमहानगरपालिकाका सम्पूर्ण कर्मचारीले माग गरेका हुन्। असोज १३ गतेको भेलाले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएरै आन्दोलनमा जाने निर्णय भएको थियो।
आज पनि आन्दोलनका निरन्तर रुपमा आफ्ना मागहरु पुरा गर्नका लागि दवाव दिने क्रममा पेन डाउन गरिएको हेटौंडा उपमहानगरपालिकाका लेखा अधिकृत केशव हुमागाईंले बताउनुभयो । आफ्ना मागहरू सम्बोधन गर्दै छिटो ऐन जारी गर्न दबाब दिने उद्देश्यले आन्दोलन थालिएको बताउनुभयो । ‘संघीय निजामती सेवा ऐन नबन्दा सबैभन्दा पीडित स्थानीय तहका कर्मचारी भएकोले आफूहरूका माग समेटेर विधेयक पारित हुनुपर्ने बताउनुभयो । स्थानीय तहको काम कारबाहीमा असर पर्ने गरी आफूहरू आन्दोलित बनेको पनि बताउनुभयो । स्थानीय तहका कर्मचारीले २० बुँदे माग अघि सारेका छन्।
उनीहरूले ऐनको नाम नै परिवर्तन गर्नुपर्ने माग गरेका छन्। संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन राख्नुपर्ने उनको माग छ। त्यस्तै संघ, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेट्नु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग छ।
उनीहरू सरुवा प्रणाली, तालिम, बढुवा, सेवा सुरक्षालगायतका विषय पनि उठान गरेका छन्। उनीहरूले स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने, आधिकारिक ट्रेड युनियनमा भाग लिने व्यवस्था गरिनुपर्ने माग पनि उनीहरूको छ।जनपत्रबाट
























