विज्ञान तथा प्रविधिको विकासको लागि सहयोग गर्न उत्सुक छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान -नाष्टको ४६ औं प्राज्ञसभाको बैठकलाई आज सम्बोधन गर्दै सो धारणा राखेका हुन् ।

आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको युग भएकाले देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कसैको विमति नरहने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नाष्ट स्थापनाको ४० वर्षमा जम्माजम्मी ४ अरबको बजेटबाट गरिएका विज्ञान, प्रबिधि र प्रवर्धनात्मक कार्यहरू प्रशंसनीय भएको भन्दै उनले तर पर्याप्त नभएको बताए । राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्द्रित हुन नसकेको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राज्ञिकहरूको सुझाव र सल्लाह एवं बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी विधेयकअनुसार देशको रूपान्तरका लागि हातेमालो गर्दै काम गर्दै जान निर्देशित गर्दछु । देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक रहेको पनि यहाँहरूलाई जानकारी गराउँछु ।’

नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात गर्दै राष्ट्रको ध्यान यसतर्फ आकषिर्त गर्न नाष्टले गरेको सत्प्रयासको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरे । ‘विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्धन गर्दै जे(जति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

वर्तमान परिस्थितिमा सहकार्यको माध्यमबाट नै सफलताको सिँढी उक्लन सहज हुने देखिएकोले त्यसतर्फ सचेत भई अगाडि बढ्न पनि ध्यानाकर्षण गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*