इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आइतबार बिहान अष्ट्रिया प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका छन् । इन्टरपोलको १०० औं वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित विदाइ गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*