एनसेलको सेयर खरिदकर्तासँग चिनजान भएको प्रधानमन्त्रीको स्वीकार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा आफ्नो र परिवारको नाम जोड्नु गणतन्त्रमाथिको हमला भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुदले सोधेका प्रश्नको जवाफ दिँदै उनले आफू र आफ्नो परिवारमाथि लागेको आरोपको अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मसँग जोडेर प्रचार, गिरिजाबाबुले धमिजाकाण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ भनेर आरोप लगाएका छन् । त्यो साँचो हो भने त म बाँच्नै सक्दैनथेँ । झुटो भएको थाहा भएकोले म ढुक्क छु । ४८० भने पनि ५ सय हजार बढी भने पनि त्यो साबित त हुनेवाला छैन ।’
प्रचण्डले अगाडि भने, ‘अब मेरो परिवारको सदस्य घट्दै गएर ३ जना रहेका छन् । त्यो मध्ये एक जना भरतपुर नगरपालिकाको मेयर हामी सबैलाई थाहा छ । एउटा छोरी छ । बिचरा त्यो कस्ती छ तपाईंहरुलाई थाहै छ । उसलाई जोडेर बनाएको छ, उचालेको छ, यसलाई म के ठान्छु भने सिस्टम, गणतन्त्रको विरुद्धको हमला हो । त्यसमा म बढो क्लियर छु । किनभने प्रचण्डलाई नराम्रोसँग ह्युमिलेट नगराएसम्म र डिप्रेस नगराएसम्म यो व्यवस्था उल्टिने भएन भन्ने छ एक थरीलाई । त्यसो भएको हुनाले त्यसको जवाफ किन दिने रु केलाई चलाएर केमा के भन्छन् नि । त्यस्तोलाई किन चलाउँछु म रु’
सांसदरुले प्रधानमन्त्रीकी छोरी एवं प्रमुख स्वकीय सचिव गंगा दाहालको पनि सो प्रकरणमा नाम जोडिएकोले वास्तविकता के हो भन्दै प्रश्न गरेका थिए ।
साथै प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर खरिदकर्ता सतीशलाल आर्चायसँग आफ्नो राम्रो परिचय भएको बताएका छन् । आर्चायसँग कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि राम्रो सम्बन्ध रहेको उनले बताए ।
























