गभर्नर अधिकारीले भनेः नेपालमा डिजिटलाइजेशनको विकल्प छैन
काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन्।
आइतबार नेपाल क्लियरिङ हाउसको १५ औँ वार्षिकोत्सव समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउने बताए।
उनले डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरे। नेपालमा डिजिटलाइजेशन प्रणालीको विस्तार बढिरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताए।
आम नागरिकहरु पनि चाँडोभन्दा चाँडो डिजिटल पेमेण्टमा जानुपर्ने बताए। उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरु लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने बताए।
























