हेटौँडामा एकल महिला सुरक्षा कोष कार्यान्वयन गर्न ध्यानाकर्षण
मकवानपुर, ४ माघ । मानव अधिकारका लागि महिला, एकल महिला समूहले सुरक्षा कोष कार्यान्वयनको लागि ध्यानाकर्षण पत्र बुझाएको छ । आज समूहले मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँ र हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँलाई ज्ञापन पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र अनुसार ‘राज्य व्यवस्था संघिय प्रणालिमा गएपछि महिला बालबालिका कार्यालय खारेज भएसँगै कोषपनि संचालनमा आउन सकेन । पुनः महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तर्फबाट एकल महिला सुरक्षाकोष मापदण्ड संसोधन गरि ७५३ तहका स्थानिय तह मार्फत लक्षित वर्गका एकल महिलाहरुलाई उल्लेखित शिर्षकहरुमा सहयोग गर्नको लागि सुरक्षाकोष मापदण्ड २०७७ संसोधन पछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट २०८० श्रावण ३२ गते सबै स्थानिय तहलाई कोष स्थानियकरणका लागि परिपत्र समेत जारी गरिसकेको अवस्था रहेको छ ।’
सम्बन्धित मन्त्रालयवाट परिपत्र जारी भईसके पनि एकल महिला सुरक्षाकोष प्रकृयागत रुपमा हालसम्म पनि अगाडि बढ्न नसकेको हुनाले स्थानिय तहमा रहेका थुप्रै विपन्नताको जोखिममा परेका एकल महिलाहरु कोष मार्फत सहयोग लिनबाट बन्चित भएको भन्दै समूहले ध्यानाकर्षण पत्र बुझाएको हो ।
समूहकी मकवानपुर जिल्ला अध्यक्ष शारदा चौँलागाईँ, सचिव कल्पना आचार्य, सदस्य अञ्जु मुडवरी, देवकुमारी बस्नेत, प्रदेश अधिकृत अप्सरा अर्याल लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो । हेर्नुहोस् ध्यानाकर्षण पत्र–

























