बागमतीका मुख्यमन्त्री जम्कट्टेलले भनेः ‘निराशा बाँड्ने काम नगरौँ’

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्भावना नै सम्भावना भएको देशमा निराशा बाँड्ने काम गर्न नहुने बताएका छन् ।

नेपाल युवा परिषद्को आयोजनामा माडीमा शनिबार आयोजित वाग्मती प्रदेशस्तरीय युवा सम्मेलनको उद्घाटनसत्रमा बोल्दै जम्कट्टेलले निराशाको कुरा गर्न नहुने बताए । उनले भने, ‘निराशा बाँडेर हामी कहाँ पुग्छौँ ? के हाम्रो देश विकास नभएकै हो त ? विकास त भएको छ तर निराशा बाँड्नेलाई छुट छैन । योजना दिने हो कार्यक्रम दिने हो । सक्छौँ, सक्नुपर्छ भन्ने हो । सम्भावना नै सम्भावना छ, सम्भावना खोजौँ । आफैँ नेतृत्वमा हुने अनि फेरि निराशा बाँड्ने हो ? आशा जगाउने काम गर्नुपर्छ’ । उनले देशमा युवा विदेश जाने कुरा फेशनजस्तै आएको बताए ।

उनले विदेश जानलाई रोक्ने भन्दा पनि सीप र ज्ञान लिएर विदेश जाने वातावरण तयार गर्नुपर्ने बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, विदेश जानबाट युवालाई रोक्नलाई के गर्ने , जागिर हो कि हाम्रो बुवाआमाले गरेको पेसा हो कि ? के हो ? एउटा गएपछि अर्को पनि जानैपर्‍यो । विदेश जान हुँदैन भन्ने होइन । अमेरिकाका मानिस हाम्रो देशमा काम गर्छन् । अमेरिकाको एउटा आइटी कम्पनी हाम्रो देशमा छ । विश्वभरको काम यहीँ गर्छन् । भारत र चीनका मानिस पनि संसारभर छन् । जानै परे सीप र पढाइ लिएर जाँदा राम्रो हुन्छ । उनले सकेसम्म स्वदेशमै रोजगारीमा लाग्नुपर्ने विचार राखे ।

मुख्यमन्त्री जम्कट्टेलले युवाहरूले सामाजिक विकास र ज्ञानलाई बिर्सन नहुने विचार राखे । उनले युवा सम्मेलनमा समाजको विकास र सामाजिक अध्ययनबारे छलफल गर्नुपर्ने सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*