चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा स्थानान्तरण गरिँदै

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको आज बैठक बसेर बुधबारदेखि काम सुरु गरिने उनले बताए।

निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने उनको भनाइ छ। उनले भने, ‘अहिले हामीले सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्दैंछौँ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो। आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने छ। बुधबार बिहान वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणमा लिने काम सुरु गरिने छ। उनले थपे, ‘अहिले गैँडाको निगरानी गर्ने काम भइरहेको छ।’

गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ। उनले भने, ‘गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा छ।’

गैँडा स्थानान्तरणका लागि प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा स्थलगत कार्यदल बनेको छ। गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली निकुञ्ज आइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*