विश्वकै दुर्लभ ‘बगाले बगेडी चरा’ शुक्लाफाटाँमा भेटियो
कञ्चनपुर । विश्वकै दुर्लभ तथा संकटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो।
शुक्लाफाँटा नगरपालिका- २ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए। भँगेरा जस्तै तर रंगीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए।
धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए।
‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण संघलाई पठाएँ,’ उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ।’
नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो। त्यसपछि यस चराको तथ्यांक राखिएको नपाइएको उनले बताए। अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उनले जानकारी दिए।
























