एसिसी प्रिमियर कपमा नेपाल मलेसियासँग खेल्दै
काठमाडौं । एसियाकप छनोटको आधारका रूपमा रहेको एसिसी प्रिमियर कप शुक्रबारबाट सुरू हुँदैछ। साविक च्याम्पियन नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग खेल्दै छ। ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुने खेलमा नेपाल विजयी सुरुवातको लक्ष्यसहित मैदान उत्रिँदै छ।
टी–२० विश्वकपलाई ध्यानमा राख्दै यो पटक टी–२० फर्म्याटमा आयोजना हुन लागेको प्रिमियरकपमा ८ टोलीले सहभागिता जनाएका छन्। वरीयताका आधारमा ६ टोलीले स्थान बनाउँदा अन्य दुई टोली कम्बोडिया र साउदी अरब च्यालेन्जर्स कपबाट छनोट भएका हुन्। ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइँदै छ।
समूह ‘ए’ मा हङकङ, मलेसिया, नेपाल, कतार र साउदी अरेबिया रहेका छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र युएई रहेका छन्। गत संस्करण एकदिवसीय फर्म्याटमा आयोजना भएको प्रतियोगितामा नेपालले यूएईलाई फाइनलमा पराजित गर्दै एसियाकपमा स्थान पक्का गरेको थियो।
नेपालले प्रतियोगिताको तयारीका लागि भारतको गुजरातमा एसएमएस फ्रेन्डसिप टी–२० त्रिकोणात्मक सिरिज खेलेको थियो। भारत भ्रमणमा नेपाल गुजरात र बरोडासँग खेल्दै च्याम्पियन भएर ओमान प्रस्थान गरेको हो।
नेपाल मलेसियाविरुद्ध लगातार उत्कृष्ट लयमा रहँदै आएको छ। हालसम्म ९ टी–२० खेलमा नेपालले ८ खेलमा जित निकाल्दा मलेसिया एकपटक मात्र विजयी भएको छ। पछिल्लो ५ खेलमा नेपालले लगातार मलेसियलाई हराएर आफ्नो रवाफिलो उपस्थिती देखाएको छ। पछिल्लो पटक २०२३ को अक्टोबरमा टी२० विश्वकप छनोट खेलमा पाखा लगाएको थियो।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुने भएकाले उपाधि जित्नै पर्ने चुनौती नेपाललाई रहेको छ।
























