हेटौँडामा अघोषित लोडसेडिङ भएको भन्दै प्राधिकरणलाई ध्यानाकर्षण

मकवानपुर । पटक–पटक भइरहेको लोडसेडिङले उद्योगी–व्यवसायी र सर्वसाधारणलाई समस्या पारेको भन्दै हेटौँडामा ध्यानाकर्षण बुझाइएको छ । मकवानपुर उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

वितरण केन्द्र प्रमुख शिवराम यादवको कार्यकक्षमा मउवासंघको डेलिगेशन टोली गई ध्यानाकर्षण गराएको हो । पत्रमा दैनिक १८ घण्टा लोडसेडिड्ड हुने अत्यासलाग्दो बिगतबाट हाल निक्कै सुधारको अवस्थामा विद्युत क्षेत्र रहेको उल्लेख गर्दै हालै ४०० केभी क्षमताको हेटौंडा सबस्टेशन तयार भई संचालनमा आएकाले विद्युतको आन्तरिक पर्याप्ततालाई सुनिश्चित गर्ने र भारत निकासी गर्न मार्गप्रशस्त हुने विश्वाससमेत व्यक्त गरिएको छ ।

विद्युत उत्पादनमा फड्को मार्दैगर्दा पनि हेटौंडामा दैनिक रुपमा लोडसेडिड्ड भइरहने अवस्थाले उद्योगी–व्यवसायी तथा सर्वसाधारण समस्यामा परेको भन्दै मउवा संघले अघोषित लोडसेडिड्डले ईलेक्ट्रोनिक सामानहरुमा खराबी निम्त्याउने गरेको समेत उल्लेख गरेको छ ।

अघोषित लोडसेडिङले औद्योगिक तथा घरायसी उपकरणहरुमा क्षति पुग्नेमात्र नभई उत्पादकत्वमा असर पर्ने र चोरीको सम्भावनासमेत बढ्नसक्ने संघले दाबी गरेको छ । बत्ति गईरहने समस्याले जनस्तरमा असहजता निम्त्याउने भएकाले ध्यानाकर्षण गराइएको पत्रमा उल्लेख छ । साथै पटक–पटक भइरहेको अघोषित लोडसेडिड्डलाई यथासिघ्र नियन्त्रण गरी उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई सुविधाको प्रत्याभूति गराइदिन संघले नेपाल विद्युत प्राधिरण समक्ष पत्रमार्फत अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*