देशभर १२ सयभन्दा बढी डेंगी संक्रमित
काठमाडौँ । देशभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्यांक २०२४ जनवरी १ देखि बुधबारसम्मको हो । महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी डेंगी फैलिएका १० जिल्लामा काठमाडौंमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् । प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ ।
टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी पुरण गुरुङका अनुसार पछिल्ला दिनमा ज्वरोका विरामी बढेको र अस्पताल आएका तीन जनामा डेंगी संक्रमण पुष्टि भएको बताए । तीमध्ये दुई जनाको वार्डमा उपचार भइरहेको र आइसीयूमा भर्ना भएका अर्का एक संक्रमित डिस्चार्ज भइसकेको उनले जानकारी दिए । महाशाखाका अनुसार यस वर्ष डेंगीका कारण विरामीको ज्यान भने गएको छैन । ईडीसीडीका अनुसार सन् २०१९ मा महामारीको रुपमा फैलिएको डेंगीले १७ हजार ९ सय ९२ जना संक्रमित भएकामा ३ जनाको मृत्यू भएको थियो । त्यसैगरी, डेंगीकै कारण २०२२ मा ८८ जना र २०२३ मा २० जनाको ज्यान गएको थियो ।
डेंगी संक्रमण देखिएका विरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिंगटा लाग्ने, वाकवाकीरवान्ता हुने लक्षण देखिन्छ । त्यस्तै स्वासप्रस्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने जस्ता लक्षण पनि देखा पर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै डेंगी संक्रमणको जोखिम बढ्ने हुँदा नियन्त्रणका लागि सरोकारवाला निकायले सक्रियता देखाउनुपर्ने चिकित्सकहरु बताउँछन् । सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुनका अनुसार अहिलेको जस्तै मनसुन सक्रिय भएमा केही सातामा लामखुट्टे बढ्ने र डेंगी संक्रमण दोब्बर हुने सम्भावना रहेको बताए ।
























