यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन
हेटौंडा । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्किोणमा केही परिवर्तन आउन थालेको बताइएको छ । बिहीबार फ्रेण्ड्स हेटौंडाद्धारा आयोजित प्रदेशको सरोकारवाला निकायसँग नीतिगत संवाद कार्यक्रममा यस समुदायका मानिसहरुलाई गरिने व्यवहारमा सकारात्मक परिवर्तनहरु आउन थालेको बताइएको हो ।
निल हिरा समाजकी अभियान्ता भूमिका श्रेष्ठले कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको परिचय प्रस्तुत गर्दै सकारात्मक सुधारका बिषयमा चर्चा गरिन् । जन्मदा छोरा अथवा छोरी भएर जन्मिए पनि १२÷१३ बर्षको उमेर लागेपछि लैंगिक परिवर्तन सुरु हुन सक्ने उनले बताइन् । पछिल्लो समय यस्ता कार्यक्रमहरु मार्फत समाजलाई बुझाउन सक्दा तीनै तहका सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका लागि आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन थालेकोमा उनले खुसी व्यक्त गरिन् ।
सुरुवाती चरणबाट हालसम्मको अवस्थामा आइपुग्दा सरकारले पनि यस समुदाय प्रति चासो र अपनत्व ग्रहण गर्ने प्रयास गरेको अभियान्ता श्रेष्ठले बताइन् । अभियानको सफलताका रुपमा लैंगिक पहिचानको आधारमा नागरिकता लिन पाउनु एउटा ठुलो सफलता भएको बताउँदै उनले भनिन्, ‘नेपालको संविधान २०७२ को उपधारा १६ मा लैंगिक पहिचानको नागरिकता अधिकार सुनिश्चित गरेको छ । त्यसमा थोरै कागजात मिलाउन परे पनि हाम्रो हक सुनिश्चित हुनु ठुलै कुरा हो ।’
कार्यक्रममा उपस्थित सरोकारवाला निकायहरुले यस यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको हक अधिकारका लागि हातेमालो गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकाश महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना, फ्रेण्ड्स हेटौंडाको अध्यक्ष भारती थापा, फ्रेण्ड्स हेटौंडाका कार्यक्रम संयोजक किरण थापा लगाएतको उपस्थिती रहेको थियो ।
























