आज जनैपूर्णिमा र रक्षाबन्धन मनाईदै
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाउने गरिन्छ । यस दिन नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरिन्छ । हिन्दू वैदिक सनातन धर्मावलम्बीले आज नदी, ताल वा पोखरीमा स्नान गरि गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ मन्त्रोच्चारण गर्दै रक्षासूत्र, रक्षाबन्धन अर्थात् डोरो यजमानको दाहिने नाडीमा बाँधिदिने वैदिक परम्परा रहेको छ ।
यसरी गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र (डोरो) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।
यस वर्ष मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाएर दिउँसो १:३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु राम्रो हुने नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिले जनाएको छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
रक्षाबन्धन बाँध्न र नयाँ जनै धारण गर्न आज बिहानैदेखि पशुपतिनाथको मन्दिर, वसन्तपुरस्थित, अशोकविनायक, बागमती नदीको किनार तथा अन्य मन्दिरहरुमा भक्तजनको भीड लागेको छ ।
यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।
























