सक्रिय भयो मनसुन बिहानैदेखि भारी वर्षा
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा केही स्थानमा भारी वर्षा भइरहेको हो ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
पर्साको रङ्गापुर, टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगंज र आसपास भारी वर्षा भएको छ । मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको मानुसमारा, सिन्धुलीको कुसुमटार, रानीचुरी वर्षामापन केन्द्रहरू र आसपासमा भारी वर्षा भएको छ ।
थप हुनसक्ने भएकाले उक्त क्षेत्र भएर बग्ने दुधौरा, पसाहालगायत साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बिहान १० बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कैलाली जिल्लाको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा रहनुहुनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।
























