कराँते संघको आयोजनामा रक्तदान कार्यक्रम
हेटौंडा । मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारी आइकेओ युनियनको आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको छ । हेटौंडा–४ हुप्रचौरमा भएको कार्यक्रममा १७ जना पुरुष र ४ जना महिला गरी २१ जनाले रक्तदान गरेका छन ।
कराँते संघले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष दशैंको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । चाडपर्वको समयमा धेरै दुर्घटना हुने भएकोले बिरामीलाई रगतको अभाव नहोस भन्ने उद्देश्यले ५ वर्षदेखि रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको संघले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–१८, का वडाध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यता तथा कराँते संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षमा रक्तदान कार्यक्रम भएको हो । रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो । संघले उक्त कार्यक्रममा सहयोग गर्ने सुदर्शन खतिवडा,सुसन श्रेष्ठ र बालकृष्ण दाहाललाई कदरपत्र बाट सम्मान गरेको थियो ।
























