मकवानपुरमा डेंगु सङ्क्रमित बढ्दै

हेटौँडा । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । चिसो मौसममा समेत दैनिक डेङ्गु सङ्क्रमित थपिदै गएका छन । जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना थप डेंगु सङ्क्रमित फेला परेका हुन ।

चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा जिल्लामा डेंगु सङ्क्रमित सङ्ख्या दुई हजार ४९८ पुगेको छ । गत आर्थिक वर्षमा जिल्लामा ८९१ जनामा डेंगु भएकोमा चालु आवको छ महिनामै डेंगु सङ्क्रमण ह्वातै बढेको तथ्याङ्क छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार १ हजार २९४ पुरुष र एक हजार २०४ जना महिलामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । चिसो बढे पनि जिल्लामा डेंगु सङ्क्रमण पुष्टि हुने क्रम रोकिएको छैन ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् ।

यहाँ एकहजार ८ पुरुष र ९५७ महिला गरी एक हजार ९६५ जनामा डेंगुु सङ्क्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै मनहरी गाउँपालिकामा २७५ जना, मकवानपुरगढी गाउँपालिकामा ५६, भीमफेदी गाउँपालिकामा ४४ जना, बकैया गाउँपालिकामा २८, थाहा नगरपालिकामा १३, कैलाशमा ११,राक्सिराङ गाउँपालिकामा १०, बागमतीमा ६ जनामा डेंगु पुष्टि भएको हो ।

अन्य जिल्लाका ४८ जना र ठेगाना नखुलेको ४२ जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्र सरोवरमा डेंगु सङ्क्रमितको सङ्ख्या शून्य छ ।

डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने,घर झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन,पूरै शरीर ढाक्ने लुगा लगाउन जनस्वास्थ्य कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*