हेटौँडा-४ को आयोजनामा खेलकुद महोत्सव हुने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले दोस्रो वडा खेलकुद महोत्सव आयोजना गर्ने भएको छ ।

‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आउँदो माघ ९ गतेदेखि फाल्गुन १७ सम्म वडा स्तरीय, नगर स्तरीय तथा जिल्ला स्तरीय खेलकुद महोत्सवको आयोजना गर्न लागिएको वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए ।

हेटौंडा–४ मा सञ्चालित सामूदायिक तथा संस्थागत विद्यालय बीच थप प्रतिष्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशिल प्रतिभा उजागर तथा शारीरिक तथा बौद्धिक विकास गर्ने उदेश्यले एक महिने खेलकुद महोत्सव आयोजना गर्न लागिएको सिग्देलले बताए ।

करिब १ महिनासम्म हुने खेलकुद महोत्सव वडा–४ को आयोजना र शैक्षिक गुणस्तर सुधार समिति लगायत विभिन्न विद्यालयहरुको व्यवस्थापनमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

करिब एक महिनासम्म सञ्चालन हुने उक्त महोत्सवमा वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा विभिन्न खेलकुदहरु आयोजना हुनेछन् ।

जसमा माघ ९ गते नवोदय माविमा हाजिरी जवाफ प्रतियोगिता, माघ १३ गते आधुनिक माविमा वकतृत्व कला प्रतियोगिता, माघ १४ गते सत्यम जेभियर्स माविमा वादविवाद प्रतियोगिता, माघ १५ गते श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता र स्लो स्कुटी प्रतियोगिता, माघ २४ गते ब्रम्हदिक माविमा कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

त्यस्तै माघ २५ गते भुटनदेवि माविमा निबन्ध लेखन प्रतियोगिता, फाल्गुन २ गते विभिन्न दौड प्रतियोगिता, फाल्गुन ३ गते आधुनिक माविमा नगर स्तरीय भलिबल प्रतियोगिता, सोही दिन श्रमिक माविमा नगर स्तरीय फुटबल प्रतियोगिता र नगर स्तरीय क्रीकेट प्रतियोगिता, फाल्गुन ५ गते सत्यम स्कुलमा अफ वार प्रतियोगिता, सोही दिन नवोदय स्कुलमा नगर स्तरिय बास्केटबल प्रतियोगिता, र फाल्गुन १६ र १७ गते नगर स्तरिय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*